काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहँदा आज हिमाली तथा पहाडी भेगमा आंशिक बदली हुने सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ। महाशाखाका अनुसार आज दिउँसो हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहनेछ। आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। अन्य हिमाली तथा पहाडी क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।
त्यस्तै, तराईका भूभागसँगै उपत्यका तथा खोँचहरूमा बिहानको समयमा केही स्थानमा हुस्सु र कुहिरो लाग्न सक्ने सम्भावना छ। महाशाखाले दिएको जानकारीअनुसार सोमबार पनि हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। सोमबार कोशी प्रदेशका हिमाली भेगका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।