काठमाडौं । बढ्दो महँगी, आर्थिक असमानता र सरकारी नीतिको विरोधमा फ्रान्समा भएको बृहत् प्रदर्शन हिंसात्मक बनेको छ।
शनिबार देशका विभिन्न सहरमा भएका प्रदर्शनका क्रममा झडप, आगजनी तथा तोडफोडका घटना भएपछि प्रहरीले करिब एक हजार जनालाई पक्राउ गरेको छ। फ्रान्सको गृह मन्त्रालयका अनुसार दिनभर शान्तिपूर्ण रहेको प्रदर्शन साँझ राजधानी पेरिससहित मार्सेई, लियोँ र बोर्डोमा उग्र बनेको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो। झडपका क्रममा दुई जना गम्भीर घाइते भएका छन्।
प्रदर्शनमा सहभागीको सङ्ख्याबारे सरकारी निकाय र मजदुर सङ्गठनबीच फरक दाबी देखिएको छ। गृह मन्त्रालयले देशभर करिब चार लाख १० हजार मानिस सहभागी भएको जनाएको छ भने मजदुर सङ्गठनहरूले आठ लाख हाराहारीमा प्रदर्शनकारी सडकमा उत्रिएको दाबी गरेका छन्। पेरिसको मुख्य प्रदर्शनमा मात्रै कम्तीमा एक लाख १० हजार सहभागी भएको बताइएको छ। प्रदर्शन हिंसात्मक हुन नदिन सरकारले देशभर ७० हजार प्रहरी तथा जन्डार्म परिचालन गरेको थियो। गत अक्टोबर १७ मा भएको प्रदर्शनका क्रममा लुटपाट, तोडफोड र आगजनी भएपछि सुरक्षा व्यवस्था थप कडा पारिएको थियो। त्यसबेला दुई हजार पाँच सयभन्दा बढी मानिस पक्राउ परेका थिए।
पेरिसमा जुलुसको अन्त्यतिर प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो। केही प्रदर्शनकारीले सडकमा अवरोध खडा गर्नुका साथै सुरक्षाकर्मीतर्फ वस्तु प्रहार गरेका थिए। त्यस्तै, मार्सेईमा फोहोर फाल्ने डब्बामा आगो लगाइएको र सडक अवरुद्ध पारिएको थियो। बोर्डो र लियोँमा पनि प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको थियो। फ्रान्सका गृहमन्त्री लरेन नुनेजले प्रदर्शनमा सहभागी केही अतिवादी समूहले हिंसा भड्काउन खोजेको आरोप लगाएका छन्। उनका अनुसार तुलुज र क्लेरमोन–फेराँमा भएका घटनामा एक–एक जना गम्भीर घाइते भएका छन्।
महँगी र आर्थिक असमानताविरुद्ध आक्रोश
प्रदर्शनकारीहरूले बढ्दो जीवनयापन खर्च, करको भार, आर्थिक असमानता र विद्यालयको कमजोर अवस्थाप्रति असन्तुष्टि जनाएका छन्। गत महिना पेरिसका उपनगरमा विद्यालयको अवस्थालाई लिएर सुरु भएको विद्यार्थी आन्दोलन विस्तार हुँदै सरकारको आर्थिक नीतिविरुद्ध केन्द्रित भएको हो। प्रदर्शनमा सहभागी युवाहरूले सरकारले आफ्नो पुस्ताका समस्या बेवास्ता गरेको आरोप लगाएका छन्। उनीहरूले गरिबी, आर्थिक कठिनाइ र प्रहरीको बल प्रयोगप्रति असन्तुष्टि व्यक्त गरेका छन्। यद्यपि, प्रदर्शनका क्रममा भएका लुटपाट र तोडफोडका घटनाले आन्दोलनको स्वरूपलाई थप विवादित बनाएको छ।
गत साताको प्रदर्शनका कारण फ्रान्सभर दुई हजारभन्दा बढी पसल तथा व्यवसाय प्रभावित भएको बताइएको छ। वाणिज्य तथा उद्योग सङ्घका अनुसार भौतिक क्षति सयौँ मिलियन युरो बराबर पुगेको अनुमान छ। त्यसक्रममा करिब एक हजार प्रहरी घाइते भएको विवरण पनि सार्वजनिक भएको छ। फ्रान्सबाहिर पनि सरकारविरोधी प्रदर्शनका क्रममा तनाव देखिएको छ। बेल्जियमको राजधानी ब्रसेल्समा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो भने अल्बानियाको तिरानामा प्रहरीले अश्रुग्यास प्रयोग गरेको थियो। इटालीको मिलानमा पनि सुरक्षा व्यवस्था कडा पारिएको थियो।
आगामी राष्ट्रपतीय निर्वाचन नजिकिँदै गर्दा चर्किएको आन्दोलनले राष्ट्रपति इमानुएल म्याक्रोंको सरकारमाथि राजनीतिक दबाब बढाएको छ। वामपन्थी नेता जाँ–लुक मेलाँसोंले सामाजिक असन्तुष्टिको सम्बोधन नभएसम्म प्रदर्शन जारी रहने बताएका छन्। सरकारले भने हिंसा, लुटपाट र तोडफोड नियन्त्रण गर्न सुरक्षा व्यवस्था थप कडा बनाएको छ।