काठमाडौँ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सहिद स्मारक ‘ए’ डिभिजन लिग सञ्चालनका लागि एकतर्फी र मनोमानी ढङ्गले निर्णय गरेको भन्दै क्लबहरूले संयुक्त रूपमा विरोध जनाएका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै क्लबहरूले आफ्ना मागहरू तत्काल सम्बोधन गर्न माग गर्दै शान्तिपूर्ण धर्ना सुरु गरेका छन्।
क्लबहरूले एन्फाको कार्यशैलीका कारण नेपाली फुटबल दिनप्रतिदिन खस्कँदै गएको र एकलौटी निर्णय गर्ने प्रवृत्ति बढेको आरोप लगाएका छन् । एन्फा र ‘ए’ डिभिजन क्लबहरूबिच २०८२ साल कात्तिक १७ गते भएको सहमति कार्यान्वयन गर्नुपर्ने उनीहरूको पहिलो माग छ ।
जारी संयुक्त विज्ञप्तिमा लिग चलिरहेको अवस्थामा खेलाडी स्थानान्तरण (ट्रान्सफर विन्डो) नखोली कसरी खेलाडी अनुबन्धन गर्न सकिन्छ भनी प्रश्न गरिएको छ ।
साथै, विदेशी खेलाडीहरूलाई ‘वर्क परमिट’ लिन प्रक्रियागत झन्झट रहेको भन्दै त्यसलाई सहजीकरण गर्न एकद्वार प्रणाली लागू गर्न पनि क्लबहरूले माग गरेका छन् ।
प्रतियोगिता नियमावलीअनुसार लिगमा १४ क्लबको सहभागिता सुनिश्चित गर्नुपर्ने, प्राविधिक र आर्थिक पक्षमा सहमति गरेर मात्र लिगको मिति तोक्नुपर्ने लगायतका मागहरू पनि अघि सारिएको छ ।
क्लबहरूसँग छलफल नै नगरी एन्फाले मनोमानी ढङ्गले लिगको मिति तोकेकोमा गम्भीर असहमति जनाउँदै क्लबहरूले उक्त निर्णय सच्याएर सबैसँग सहमतिमा नयाँ कार्यतालिका प्रकाशन गर्न अनुरोध गरेका छन् ।
आफूहरूले राखेका मागहरू तत्काल कार्यान्वयन गर्न दबाब दिने उद्देश्यले आज (सोमबार) देखि नै शान्तिपूर्ण धर्ना कार्यक्रम सुरु गरेका छन् ।
