काठमाडौँ । पछिल्लो सातामा भारी वर्षाले देशभर व्यापक बाढी आएको छ। अधिकारीहरूले कम्तीमा ६२ जनाको मृत्यु भएको र उद्धारकार्य अझै जारी रहेको बताएका छन्। नैरोबीमा मिनिबस (मातातु) पानीमा फसेर ११ जनालाई उद्धार गरिएको थियो भने दुई बालबालिकालाई घरमै बाढीबाट जोगाइएको छ।
नदी फुट्दा घर, सडक, बिजुली र पानीको लाइनमा ठूलो क्षति पुगेको छ। आन्तरिक मामिला मन्त्रालयले देशका विभिन्न भागमा भारी वर्षा जारी रहेको चेतावनी जारी गर्दै कम उचाइ भएका क्षेत्रका बासिन्दालाई सुरक्षित स्थलमा सर्न आग्रह गरेको छ। हालसम्म २ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। मृतकमध्ये आधाभन्दा बढी, ३३ जना नैरोबीमा रहेका छन्। यहाँ खराब निकास प्रणाली र अनियन्त्रित विकासका कारण बाढीको जोखिम बढी भएको अधिकारीहरूले बताएका छन्। राष्ट्रपति विलियम रुटो ले प्रभावितलाई आपतकालीन खाद्य तथा चिकित्सा सहयोग पुर्याइएको र अवरुद्ध भएका निकास प्रणाली सफा गर्ने काम भइरहेको जानकारी दिएका छन्। छिमेकी इथियोपियामा पनि बाढी र पहिरोका कारण १०० भन्दा बढीको मृत्यु भएको छ। विशेषज्ञहरूले जलवायु परिवर्तनले अत्यधिक वर्षा र बाढीको जोखिम बढाएको बताएका छन्।