काठमाडौँ । बालेन प्रधानमन्त्री बन्ने सम्भावना बढेपछि उनकी दिदी सुजाता शाह अत्यन्त खुसी भएको बताएकी छन् । भारतको बेंगलुरुमा बस्दै आएकी सुजाताले बीबीसी हिन्दी सेवासँगको कुराकानीमा बालेनको नेतृत्वमा देशमा शान्ति, स्थिरता र विकास हुने विश्वास व्यक्त गरिन् ।
भाइ प्रधानमन्त्री बन्न सक्छ भन्ने उनले कहिल्यै कल्पना गरेकी थिइनन् । ‘जब बालेन काठमाडौँका मेयर बने र मन्दिरहरूको पुनर्निर्माण तथा राजधानीको संस्कृति सुधार गर्ने काम गरे, त्यसपछि हामीलाई लाग्न थाल्यो कि उ प्रधानमन्त्री पनि बन्न सक्छ,’ उनले भनिन् ।
यस्तै सुजनताले युवालाई देशभित्र रोजगारी र कामको अवसर हुनुपर्ने बालेनको चाहना रहेको र उनी राजनीतिमा पनि यही उद्देश्यका लागि लागेको बताइन् । सुजाताले चुनावी अभियानका क्रममा फोन गरेर डिस्टप नगरेको बताउदै यदपी स्वास्थ्य अवस्थाबारे बुझ्न सन्देश पठाइरहेको उनले बताइन् ।
सुजाताका अनुसार बालेन पहिलो पटक २०१५ मा बेंगलुरु गएका थिए । त्यसबेला नेपालमा आएको विनाशकारी भूकम्पपछि उनी आफ्नी दिदीलाई भेट्न गएका थिए । त्यतिबेला उनी सिभिल इन्जिनियर थिए । पछि उनले बेंगलुरुकै नित्ते मीनाक्षी इन्स्टिच्युट अफ टेक्नोलोजीमा स्ट्रक्चरल इन्जिनियरिङ पढ्ने निर्णय गरे । नेपाललाई भूकम्पको जोखिमबाट सुरक्षित बनाउने उनको सपना थियो । राजनीतिमा आउनुअघि बालेन र्यापरका रूपमा पनि लोकप्रिय थिए । सुजाता पेशाले चित्रकार हुन् । उनले कला–पारखी पति हरिश सेजेकनसँग विवाह गरेपछि लामो समयदेखि भारतमा बस्दै आएकी छन् ।