काठमाडौँ । सानिगाड हाइड्रो लिमिटेड ले चैत ८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत बराबर ८५ करोड ५० लाख रुपैयाँको ८५ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको छ।
यसअन्तर्गत २८ करोड ५० लाख रुपैयाँबराबरको २८ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको छ। जसमध्ये १८ लाख ५२ हजार ५०० कित्ता बझाङको बुंगल नगरपालिका वडा नं। १, २ र ४ का अति प्रभावित क्षेत्रका बासिन्दालाई बाँडफाँट गरिनेछ भने बाँकी ९ लाख ९७ हजार ५०० कित्ता वडा नं। ३, ५, ६, ७, ९, १० र ११ का बासिन्दामा वितरण गरिनेछ। त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको शेयरको १० प्रतिशत अर्थात ५ लाख ७० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिनेछ। आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आवेदन छिटोमा चैत २२ गते र ढिलोमा वैशाख ७ गते २०८३ सम्म खुला रहनेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन छिटोमा चैत ११ गते र ढिलोमा चैत २२ गते सम्म खुला रहनेछ। इक्रा नेपाल ले कम्पनीलाई ‘इक्रएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ। कम्पनीले ३८।४६ मेगावाट क्षमताको माथिल्लो कालंगागाड जलविद्युत आयोजना निर्माण गरिरहेको छ, जसको कुल लागत ८ अर्ब ६८ करोड ७० लाख रुपैयाँ रहेको छ। शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।