काठमाडौँ । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज (चैत १ गते) देखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ।
कम्पनीले जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत बराबर २० लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। यसमध्ये १० लाख ४० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। त्यसमा ५ लाख २० हजार कित्ता अति प्रभावित क्षेत्र सोलुदुधकुण्ड नगरपालिका–२, ३ र ४ का बासिन्दाका लागि, ३ लाख १२ हजार कित्ता वडा नं. ५, ६, ७ र ११ का बासिन्दाका लागि, र २ लाख ८ हजार कित्ता सोलुखुम्बु जिल्लाका अन्य बासिन्दाका लागि छुट्याइएको छ। साथै, १ लाख ४ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ। यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। स्थानीय बासिन्दाका लागि आवेदन चैत १५ गतेसम्म र ढिलोमा चैत ३० गतेसम्म खुला रहनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन चैत ५ गतेसम्म र ढिलोमा चैत १५ गतेसम्म खुला रहनेछ। आईपीओको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।