काठमाडौँ । गत वैशाखदेखि फागुन मसान्तसम्मको ११ महिनाको अवधिमा देशभर विभिन्न प्रकारका विपद्का कुल ६ हजार ७९९ घटना भएका छन्। राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा परेर ४६४ जनाले ज्यान गुमाएका छन् भने ३८ जना बेपत्ता भएका छन्। साथै एक हजार ८१४ जना घाइते भएका छन्।
प्राधिकरणले उपलब्ध गराएको विवरणअनुसार विपद्का कारण १२ हजार ४५८ घरपरिवार प्रभावित भएका छन्। तथ्यांक हेर्दा सबैभन्दा धेरै आगलागीका घटना भएका छन्। सो अवधिमा ३ हजार ३३९ आगलागीका घटना हुँदा ९८ जनाको मृत्यु भएको छ। त्यसैगरी, बाढीका ३१८, पहिरोका ५९०, भारी वर्षाका ४२९, चट्याङका ३६७, सर्पदंशका ५९२ तथा डढेलोका २४६ घटना भएका छन्। यस्तै हावाहुरीका २९२, जनावरको आक्रमणका ४८८ र लेक लागेका ११९ घटना पनि भएको प्राधिकरणले जनाएको छ। यस अवधिमा हिमपहिरोका ५, भूकम्पका ७ तथा डुङ्गा पल्टेर २ वटा घटना भएका छन्। त्यस्तै फागुन २९ गते बिहानदेखि ३० गते बिहानसम्म मात्रै देशभर २९ वटा विपद्का घटना दर्ता भएका प्राधिकरणले जनाएको छ।