काठमाडौँ । इरानी नागरिकहरूलाई आगमन प्रवेशआज्ञा (अनअराइभल भिसा) नदिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ। इरानी नागरिकलाई यसअघि दिँदै आएको अनअराइभल भिसा नदिने निर्णय गरेको हो । यो सँगै नेपालमा १३ वटा देशका नागरिकहरूलाई नेपाल प्रवेशमा प्रदान गरिँदै आएको ’अन अराइभल’ भिसा सुविधामा रोक लागेको छ ।
इरानमा देखिएको तनावका कारण इरानी नागरिकहरू नेपाल आउने क्रम बढेपछि गृह मन्त्रालयले सुरक्षाको कारण देखाउँदै यस्तो निर्णय गरेको हो । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले भने, ’इरानीहरूले अब नेपाली दूतावासबाट भिसा लिएरमात्र नेपाल आउँछन्। तत्कालका लागि उनीहरूलाई पाउँदै आएको अनअराइभल भिसा दिने प्रक्रिया बन्द गर्ने निर्णय भएको छ।’ यद्यपि कूटनीतिक र अफिसियल राहदानी बाहक इरानी नागरिकलाई भने कुनै रोकतोक नहुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।
अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि मध्यपूर्वी क्षेत्रमा तनाव बढेको छ। अमेरिकी आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई मारिएपछि तनाव झन् बढेको हो।
भिसा रोकिएका देशहरूको सूचीः
१. नाइजेरिया
२. घाना
३. जिम्बावे
४. स्वाजिल्याण्ड (ईस्वातिनी)
५. क्यामरुन
६. सोमालिया
७. लाइबेरिया
८. इथियोपिया
९. इराक
१०. प्यालेस्टाइन
११. अफगानिस्तान
१२. सिरिया
१३. इरान