काठमाडौँ । स्वीट्जरल्यान्डका गुग्लिएल्मो एरेना नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका नयाँ मुख्य प्रशिक्षक नियुक्त भएका छन्। नियुक्ति पछि उनले सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा ‘मिट एन्ड ग्रीट’ कार्यक्रममा सहभागी भएर आफ्नो खुशी व्यक्त गरे।
एरेनाले भने, म नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक बनेर निकै उत्साहित छु। मेरो लक्ष्य टिमलाई साफ च्याम्पियनसिप जिताउन तयार पार्नु हो। म सन् २०२६ सम्म टिमको जिम्मेवारीमा रहनेछु र विगतका कमजोरी दोहोर्याउनु हुँदैन। उनले नेपाली खेलाडीहरू धेरै क्षमतावान रहेको भन्दै, प्रशिक्षणमार्फत उनीहरूलाई अझ उत्कृष्ट बनाउने विश्वास व्यक्त गरे। साथै, टिममा रणनीतिक सुधार ल्याउनलाई आफ्नो प्राथमिकता रहेको बताए। बिहीबार एरेनाले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फाका महासचिव किरण राईबाट औपचारिक रूपमा नियुक्तिपत्र प्राप्त गरेका थिए।