काठमाडौँ । नेपाल राष्ट्र बैंकले स्थायी चालू पूँजी कर्जा आगामी असार मसान्तसम्म पुनर्तालिकीकरण गर्न सकिने सुविधा उपलब्ध गराएको छ। यसअन्तर्गत बैंक र वित्तीय संस्थाहरूले ऋणीको नगद प्रवाह र वित्तीय विवरणको आधारमा मात्र आवश्यकताअनुसार कर्जा पुनर्तालिकीकरण गर्न सक्ने छन्।
राष्ट्र बैंकको नयाँ निर्देशन अनुसार, चालू पूँजी कर्जा खातामा क्यास क्रेडिट कर्जा सीमाको ३० प्रतिशतभन्दा कम वक्यौता कायम हुनुपर्नेछ, जुन पहिलाको १० प्रतिशतको सट्टा वृद्धि गरिएको हो। बैंक तथा वित्तीय संस्थाहरूले आवश्यकताको आधारमा उत्पादनमूलक उद्योगको हकमा ४ करोडसम्म, अन्य उद्योग वा व्यापारका लागि २ करोडसम्मको चालू पूँजी कर्जा प्रदान गर्न सक्ने छन्। यसरी गरिएको पुनर्तालिकीकरण कर्जा वर्गीकरण वा कर्जा नोक्सानी व्यवस्थाको लागि पुनर्तालिकीकरण मानिने छैन। यस व्यवस्था अनुसार, चालू पूँजी कर्जाका क्यास क्रेडिट खातामा आर्थिक वर्षको कुनै एक समयमा कम्तीमा सात दिन लगातार कर्जा सीमाको ३० प्रतिशतभन्दा कम वक्यौता कायम हुनुपर्नेछ।