काठमाडौँ । निर्वाचन पर्यवेक्षण समिति नेपालका अध्यक्ष श्रीकृष्ण आचार्यले यसपटकको प्रतिनिधिसभा निर्वाचनमा सामाजिक सञ्जालमार्फत हुने आचारसंहिता उल्लङ्घनका घटना विगतको तुलनामा बढेको बताएका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सम्बन्धी पत्रकार सम्मेलनमा बोल्दै उनले निर्वाचन पर्यवेक्षण समिति नेपाल सन् २०७० मा स्थापना भएदेखि नै देशभर हुने विभिन्न निर्वाचनमा निरन्तर पर्यवेक्षण गर्दै आएको बताए। उनका अनुसार यसपटक भने राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति र निर्वाचन पर्यवेक्षण समिति नेपालले संयुक्त रूपमा पर्यवेक्षक परिचालन गरेका थिए। यद्यपि पर्यवेक्षकहरू अलग–अलग रूपमा परिचालन गरिएकाले दुवै संस्थाले तयार गर्ने अन्तिम प्रतिवेदन भने छुट्टाछुट्टै सार्वजनिक गरिनेछ। आचार्यले प्रतिवेदन तयार गर्न केही समय लाग्ने पनि जानकारी दिए। विगतका निर्वाचनमा मुख्यतः मतदान केन्द्रमा पुगेर निर्वाचन आयोग र सरकारी कर्मचारीको गतिविधि प्रत्यक्ष रूपमा अवलोकन गर्ने गरिएको स्मरण गराउँदै उनले यसपटकको निर्वाचनको स्वरूप केही फरक देखिएको बताए। उनले सामाजिक सञ्जालमार्फत फैलिने गलत सूचना, प्रचार तथा आचारसंहिता उल्लङ्घनका घटनाहरू यसपटक बढी देखिएको उल्लेख गर्दै यस्ता विषयलाई प्रतिवेदनमा समेटिने बताए।