काठमाडौँ । स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सफलतापूर्वक सम्पन्न गराउन नेपाल सरकारको भूमिका सराहना गर्दै धन्यवाद ज्ञापन गरेको छ।
अभियानको तर्फबाट इन्सेक अध्यक्ष विजयराज गौतम र नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालसहितको टोलीले शुक्रबार सिंहदरबारमा गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन सरकारले निर्वाह गरेको योगदानको लागि धन्यवाद दिएको हो। गृहमन्त्री अर्यालले निर्वाचन उत्साहजनक, शान्तिपूर्ण र लोकतान्त्रिक प्रक्रिया अनुसार सम्पन्न भएको भन्दै सम्बद्ध सबै पक्षको भूमिका सराहनीय भएको बताए। उनले भने, “निर्वाचनको माध्यमबाट संविधानको कार्यान्वयन र जनताको हक अधिकारको संस्थागत सुनिश्चितता भएको छ। नागरिक अभियानले विषम परिस्थितिमा पनि सरकारले कायम गरेको शान्ति सुरक्षा, सक्रिय समन्वय र पारदर्शी व्यवस्थापन प्रशंसनीय रहेको र यसले जनविश्वास र लोकतन्त्रप्रतिको विश्वासलाई थप मजबुत बनाएको उल्लेख गरेको छ। अभियानले आगामी दिनमा पनि सरकारको सक्रिय नेतृत्व लोकतान्त्रिक मूल्य, विधिको शासन, मानव अधिकार संरक्षण र सुशासन प्रवर्द्धनमा कायम रहिरहने विश्वास व्यक्त गरेको छ।