काठमाडौँ । स्थानीयको अवरोधका कारण बन्चरेडाँडामा काठमाडौं उपत्यकाको फोहोर विसर्जन रोकिएको छ । बन्चरेडाँडा क्षेत्रका बासिन्दाले काठमाडौं महानगरपालिका र सहरी विकास मन्त्रालयसँग विगतमा भएका सहमति कार्यान्वयन नभएको विरोधमा फोहोर फाल्न नदिएका हुन् ।
विगतका सहमति कार्यान्वयन नभएसम्म फोहोर फाल्न नदिने उनीहरूको अडान छ । सोहीअनुसार काठमाडौंबाट फोहोर बोकेर आएका गाडीलाई फिर्ता पठाइएको स्थानीय निरञ्जन सञ्जेलले जानकारी दिए।यसअघि, गएको कात्तिक १६ गते सहरी विकासमन्त्री कुलमान घिसिङले विगतका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएसँगै फोहोर विसर्जनको अवरोध हटेको थियो ।
नुवाकोटको ककनी गाउँपालिका–१, २ र ३ तथा धादिङको धुनबेँसी नगरपालिका–१, ३ र ४ वडाका प्रभावित स्थानीयले दुई जिल्लाको सीमा ढाँडेस्थित सडकमा बसेर फोहोर बोकेका गाडीलाई गन्तव्यमा जान दिएका छैनन् । ककनी र बेलकोटगढी तथा धुनीबेँसीका स्थानीय जनप्रतिनिधि र दलका नेताले पनि उनीहरूलाई साथ दिएका छन् ।