काठमाडौँ । पश्चिम एसियाका विभिन्न देशमा समस्यामा परेका नेपाली नागरिकलाई सरकारले समन्वय गरेर उद्धार गरिरहेको छ। यस क्रममा नेपाल वायुसेवा निगम ले विशेष उद्धार उडानमार्फत नेपालीलाई क्रमशः स्वदेश फर्काइरहेको छ।
निगमका प्रवक्ता देवेन्द्र पुन का अनुसार बिहीबार सञ्चालन गरिएको विशेष उडानमार्फत दुबई अन्तर्राष्ट्रिय विमानस्थल मा अलपत्र परेका २७२ जना नेपालीलाई काठमाडौं ल्याइएको हो। उक्त उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट २६० जना यात्रुलाई दुबईसम्म पुर्याइएको थियो।
आज पनि निगमको जहाज २६७ जना यात्रु लिएर दुबई जानेछ र त्यहाँबाट १६४ जना नेपालीलाई स्वदेश ल्याइने जानकारी प्रवक्ता पुनले दिएका छन्। फागुन १६ गतेदेखि पश्चिम एसियाली क्षेत्रको आकाशमा उडान प्रतिबन्ध लागेपछि नेपालीहरूको उद्धारका लागि विशेष उडान सुरु गरिएको हो। संयुक्त राज्य अमेरिका र इजरायल ले संयुक्त रूपमा इरान मा हवाई आक्रमण गरेपछि उक्त क्षेत्रमा उडान सेवा प्रभावित भएको बताइएको छ।