काठमाडौं । राहदानी विभागले आगामी ६ महिना अर्थात् २०८३ असोजभित्र राहदानी आवश्यक पर्नेलाई अहिले नै राहदानी लिन आग्रह गरेको छ ।
विभागले राहदानी खरिदका लागि नयाँ आपूर्तिकर्तासँग सम्झौता गरी जारी गर्न लागिएको जानकारी दिँदै बीचमा राहदानी वितरणमा प्रभाव पर्ने भन्दै यस्तो आग्रह गरेको हो ।
"राहदानी विभागले राहदानी खरिदका लागि नयाँ आपूर्तिकर्तासँग सम्झौता गरी नयाँ प्रणालीमार्फत राहदानी जारी गर्न राहदानी प्रणाली, राहदानी पुस्तिकालगायतको आवश्यक तयारी गरिसकेको जानकारी गराउँछौँ," विभागले बिहीबार जारी गरेको सूचनामा भनिएको छ ।
विभागले अबको एक/दुई महिनाभित्रमा हालको प्रणालीबाट नयाँ प्रणालीमा बदली हुने र उक्त अन्तरिम अवस्थामा प्रणाली स्थिरीकरण नभएसम्म राहदानी वितरणमा प्रभाव पर्न सक्ने जनाएको छ । त्यस्तो अवस्थामा जिल्ला/इलाका प्रशासन र राहदानी विभाग तथा विदेशबाट प्रदान गरिने राहदानी सेवा बन्द हुन सक्ने विभागले जनाएको छ ।
जिल्ला/इलाका प्रशासन तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा १ देखि ३ हप्तासम्म बन्द हुन सक्ने विभागले जनाएको छ ।
