काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा इटालीका गुग्लिएल्मो एरेना नियुक्त भएका छन्। यसअघि नेपाल आएका एरेनालाई बिहीबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा महासचिव किरण राईले नियुक्त पत्र दिए।
५२ वर्षीय प्रशिक्षक एरिनाको पहिलो जिम्मेवारी मार्च २६ मा दशरथ रंगशालामा हुने हङकङविरुद्धको मैत्रीपूर्ण खेल हुनेछ। उनी स्विट्जरल्यान्डमा जन्मिएका इटालियन प्रशिक्षक हुन्। उनी युइएफए प्रो लाइसेन्स प्राप्त प्रशिक्षक हुन्।
हङकङविरूद्धको खेल लगत्तै उनले एएफसी एसियन छनोटको तेस्रो चरणको अन्तिम खेलमा लाओसविरूद्ध नेपाली टोलीको नेतृत्व गर्नेछन्। उनीसँग यसअघि जाम्बिया र मोरक्कोको लिगमा काम गरेको अनुभव छ। साथै उनले लाओसको यू२३ टोलीमा पनि व्यवस्थापन गरेका थिए।
नेपाल हङकङबीच चैत १२ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रतिस्पर्धा गर्दा उनी पहिलो पटक औपचारिक भूमिकामा हुनेछन्। नेपालले एक वर्षमा दोस्रो पटक हङकङसँग खेल्न लागेको हो। यसअघि हङकङमा गत जुनमा भएको खेल गोलरहित बराबरीमा सकिएको हो।
एएएफसी एसियन कपको तेस्रो चरणको छनोटमा नेपालले आफ्नो अन्तिम खेल खेल्न बाँकी छ। यसअघि पाँच खेलमा लगातार पराजित भइसकेको नेपाल बाहिरिसकेको छ। नेपालले अन्तिम खेलमा लाओससँग खेल्ने तय छ। चैत १७ गते हुने खेल होम म्याच भए पनि दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाउँदा यो खेल कहाँ हुने टुंगो छैन।