काठमाडौँ । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको न्याय माग गर्दै बिहिबार पनि काठमाडौंमा विरोध प्रदर्शन भएको छ । काठमाडौंको माइतीघर मण्डलामा बिहीबार उनको न्याय माग गर्दै प्रदर्शन भएको हो । प्रदर्शनमा सहभागीहरूले ‘इनिसा विकलाई न्याय दे, बलात्कारीलाई फाँसी दे, जात व्यवस्था मुर्दावाद, बलात्कारीलाई कारबाही गर, पितृसत्ता मुर्दावाद,’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका छन् । उक्त घटनाको थप अनुसन्धान भने केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गर्ने भएको छ ।
प्रहरी निरीक्षकको कमान्डमा ब्यूरोको विज्ञ टोली खटाएको सुर्खेतका प्रवक्ता एवंम डीएसपी मोनजंग बुढथापाले जानकारी दिए । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरू चारै जना १८ वर्षमुनिका रहेको डिएसपी बुढथापाले जानकारी दिए । सुर्खेत प्रहरीले फागुन २३ गते दिउँसो नै एक १६ वर्षीय किशोरलाई पक्राउ गरेको थियो ।
थप अनुसन्धानका लागि फागुन २४ गते अरू तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । गुर्भाकोट–६, बडाखोली स्थायी घर भएकी इनिसाको फागुन २३ गते बिहान वीरेन्द्रनगर–४, शहीद पार्क नजिकको जनजागरण सामुदायिक वनमा बलात्कारपछि हत्या भएको थियो । मृतकको सामूहिक बलात्कारपछि हत्या भएको भन्दै मृतकका आफन्तहरूले फागुन २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका थिए ।