काठमाडौँ । पछिल्ला केही दिनयता देशका विभिन्न सहरमा तापक्रम क्रमशः बढ्दै गएको देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार फागुन २६ देखि २८ गतेसम्म अधिकांश स्थानमा अधिकतम तापक्रममा वृद्धि देखिएको छ भने केही स्थानमा सामान्य उतारचढाव मात्रै भएको छ।
विभागले सार्वजनिक गरेको विवरण अनुसार तराई–मधेसका धेरैजसो सहरमा तापक्रम बढ्दो क्रममा रहेको छ। राजधानी काठमाडौँमा फागुन २६ गते अधिकतम तापक्रम २०–२२ डिग्री सेल्सियस रहेकोमा शनिबार २४ डिग्री पुगेको थियो। आज मध्यान्हसम्म भने अधिकतम तापक्रम २५।४ डिग्री सेल्सियस पुगेको छ। आज राति न्यूनतम तापक्रम १५–१७ डिग्री सेल्सियस आसपास रहने अनुमान गरिएको छ। आज मध्यान्हसम्मको विवरण अनुसार सिराहा र बाँकेमा सबैभन्दा बढी ३१।१ डिग्री सेल्सियस अधिकतम तापक्रम मापन गरिएको छ। त्यस्तै मनाङको हुम्दे विमानस्थलमा भने ३।२ डिग्री सेल्सियस मात्रै तापक्रम रहेको छ।
पूर्वी तराईको विराटनगरमा आज तापक्रम ३१–३३ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ भने नेपालगञ्जमा ३०–३२ डिग्री सेल्सियस आसपास रहने सम्भावना रहेको विभागले जनाएको छ। गण्डकी प्रदेशको पोखरामा २६–२८ डिग्री सेल्सियस तापक्रम रहने अनुमान गरिएको छ। हिमाली क्षेत्रमा जुम्लामा २३–२५ डिग्री सेल्सियस र जोमसोममा १७–१९ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ। मौसमविद् सञ्जीव अधिकारीका अनुसार अहिले देशका अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहेको छ। उनका अनुसार हावामा आद्रता बढेसँगै तापक्रम पनि क्रमशः बढ्दै गएको हो। आगामी केही दिन देशभर दिउँसोको तापक्रम अझै बढ्ने सम्भावना रहेको विभागले जनाएको छ।