काठमाडौँ। भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाल भारतको नयाँ दिल्लीमा हुने प्रतिष्ठित ‘एनएक्सटी समिट २०२६’ मा वक्ताका रूपमा सहभागी हुने भएकी छन्। भारतीय संसद्को राज्य सभाका सांसद कार्तिकेय शर्मा ले दाहाललाई औपचारिक निमन्त्रणा पठाउँदै सम्मेलनमा विशिष्ट वक्ताका रूपमा आमन्त्रण गरेका हुन्।
उक्त सम्मेलन मार्च १२ देखि १४ सम्म नयाँ दिल्लीस्थित भारत मण्डपम मा आयोजना हुँदैछ। आयोजकका अनुसार यो सम्मेलनलाई भारतमा वार्षिक रूपमा सञ्चालन हुने महत्त्वपूर्ण क्यालेन्डर इभेन्टका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। नीति निर्माण, शिक्षा, व्यवसाय, राजनीति, विज्ञान र प्रविधिका क्षेत्रमा विश्वस्तरका विचारकहरूलाई एउटै मञ्चमा ल्याउने उद्देश्यसहित सम्मेलन आयोजना गरिँदैछ। कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ले प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने तालिका रहेको छ। यसका साथै हार्वर्ड, एमआईटी, अक्सफोर्ड र स्ट्यानफोर्ड लगायत विश्वका उत्कृष्ट २५ विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थीहरू र ३० भन्दा बढी देशका सांसदहरूको सहभागिता रहने जनाइएको छ। त्यसैगरी रेल, इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि राज्यमन्त्री अश्विनी वैष्णव र प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री डा। जितेन्द्र सिंह लगायतका विशिष्ट व्यक्तित्वहरू पनि सम्मेलनका वक्ताका रूपमा सहभागी हुनेछन्।