काठमाडौं । मध्यपूर्वमा बढ्दो तनाव र इरान–इजरायल द्वन्द्वका कारण विश्वव्यापी ऊर्जा संकट चुलिँदा त्यसको प्रत्यक्ष असर नेपालमा पनि पर्न थालेको छ। पछिल्लो केही दिनदेखि काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरहरूमा खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएको छ।
आज बिहानैदेखि काठमाडौंको बालाजु औद्योगिक क्षेत्र र आसपासका ग्यास डिपोहरूमा उपभोक्ताहरूको सयौं मिटर लामो लाइन देखिएको छ। कतिपय उपभोक्ताहरू ग्यास पाउने आशमा हिजो रातिदेखि नै रित्ता सिलिण्डर बोकेर लाइनमा बसेका छन्।
“बिहान ३ बजेदेखि लाइनमा बसेको छु, तर डिपोले ग्यास छैन भन्छ,“ बालाजुमा भेटिएका एक स्थानीय उपभोक्ताले गुनासो गरे, “बजारमा ग्यास लुकाइएको हो कि साँच्चै नआएको हो, कसैले स्पष्ट जानकारी दिँदैनन्।“
सीमित मात्रामा ग्यास आएका डिपोहरूमा पनि पहुँचवालाले मात्रै पाउने गरेको र सर्वसाधारण रित्तै हात फर्किनुपरेको दृश्य सामान्य बनेको छ।