काठमाडौँ । चालू आर्थिक वर्षको माघ मसान्तसम्म नेपालको कुल विदेशी विनिमय सञ्चिति ३३ खर्ब रुपैयाँ नाघेको छ। नेपाल राष्ट्र बैंकको प्रतिवेदन अनुसार, असार मसान्तको तुलनामा सञ्चिति २३.३ प्रतिशतले बढेर २६ खर्ब ७ अर्ब रुपैयाँबाट ३३ खर्ब २ अर्ब रुपैयाँ पुगेको हो।
अमेरिकी डलरमा सञ्चिति १६.७ प्रतिशतले बढेर १९ अर्ब ५० करोडबाट २२ अर्ब ७६ करोड पुगेको छ। नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति पनि २१.२ प्रतिशतले वृद्धि भई २४ खर्ब १४ अर्बबाट २९ खर्ब २ अर्ब पुगेको छ। विदेशी सञ्चितिमा भारतीय मुद्राको अंश २१.५ प्रतिशत रहेको छ। राष्ट्र बैंकका अनुसार हालको विदेशी विनिमय सञ्चिति बैंकिङ क्षेत्रसँग करिब २१.३ महिनाको वस्तु आयात र १८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ।