काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो सात महिनामा नेपालमा भित्रिने रेमिट्यान्स उल्लेखनीय रूपमा वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३९.८ प्रतिशतले बढेर १२ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने रेमिट्यान्स वृद्धि दर ७.५ प्रतिशत मात्रै रहेको थियो। प्रतिवेदनअनुसार माघ महिनामा मात्रै नेपालमा १ खर्ब ९८ अर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको छ। गत वर्ष सोही महिनामा भने १ खर्ब ३७ अर्ब रुपैयाँ बराबरको विप्रेषण आएको थियो। अमेरिकी डलरमा पनि रेमिट्यान्स आप्रवाह बढेको छ। समीक्षा अवधिमा डलरमा विप्रेषण ३३ प्रतिशतले वृद्धि भई ८ अर्ब ८६ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्ष सोही अवधिमा डलरमा यस्तो वृद्धि दर ५.५ प्रतिशत मात्रै थियो।
यता वैदेशिक रोजगारीका लागि नयाँ अन्तिम श्रम स्वीकृति लिनेको संख्या भने घटेको देखिएको छ। चालू आर्थिक वर्षको सात महिनामा संस्थागत तथा व्यक्तिगत रूपमा २ लाख ४५ हजार १५३ जनाले नयाँ श्रम स्वीकृति लिएका छन्। अघिल्लो वर्ष सोही अवधिमा भने यस्तो संख्या २ लाख ७४ हजार ६२२ थियो। तर पुनः श्रम स्वीकृति लिनेको संख्या भने बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा १ लाख ९० हजार ८८६ जनाले पुनः श्रम स्वीकृति लिएकोमा चालू आर्थिक वर्षको सात महिनामा यो संख्या बढेर २ लाख २७ हजार ४२४ पुगेको राष्ट्र बैंकले जनाएको छ।