काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ का सुरुआती २० खेलको तालिका सार्वजनिक गरिएको छ । भारतीय क्रिकेट नियन्त्रण बोर्डले बुधबार सार्वजनिक खेल तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेल २८ मार्चमा हुनेछ ।
१० स्थानहरूमा जम्मा २० खेलहरू बेंगलुरु, मुम्बई, गुवाहाटी, नयाँ चण्डीगढ, लखनऊ, कोलकाता, चेन्नई, दिल्ली, अहमदाबाद र हैदराबादमा खेलाइनेछन् ।
यस अवधिमा, प्रतियोगितामा चार डबल हेडर खेलहरू हुनेछन्, दिउँसोका खेलहरू भारतीय समयअनुसार दिउँसो ३:३० बजे सुरु हुनेछन् र साँझका खेलहरू भारतीय समयअनुसार साँझ ७:३० बजे सुरु हुनेछन्।
पहिलाे खेलमा गत सिजनको विजेता रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र सनराइजर्स हैदराबाद (एसआरएच)बीच प्रतिस्पर्धा हुनेछ । यी दुई टाेलीबीचकाे खेल बेंगलुरुको एम चिन्नास्वामी स्टेडियममा हुनेछ ।
पहिलो चरणमा १६ दिनभित्र २० खेल खेलाइने छन् । यस अवधिमा ४ डबल हेडर (एकै दिन दुई खेल) पनि समावेश छन् । २९ मार्चमा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सकाे सामना गर्नेछ । यो खेल मुम्बईस्थित वानखेडे स्टेडियममा हुने तालिका छ ।
यस अवधिमा तीन राज्यहरूमा विधानसभाको चुनाव हुने भएकोले चुनाव मिति घोषणा भएपछि प्रतियोगिताको पूर्ण तालिका घोषणा गरिने बोर्डले जनाएको छ।