काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले यस वर्ष मुलुकमा मलखादको अभाव नहुने बताएका छन्।
बुधबार कैलालीको जानकी गाउँपालिका–४ मुनुवामा चारपाङ्ग्रे मेसिनद्वारा चैते धान रोपाइँको उद्घाटन गर्दै मन्त्री डा. परियारले यस्तो प्रतिबद्धता जनाएका हुन्।
मलखादको समस्या समाधानका लागि सरकारले यस आर्थिक वर्षमा करिब २९ अर्ब रुपैयाँ अनुदान निकासा गरिसकेको जानकारी दिँदै उनले अन्तर्राष्ट्रिय बजारको असहज परिस्थितिका बाबजुद पनि किसानलाई समयमै मल उपलब्ध गराउन सरकार लागिपरेको बताए।
मन्त्री परियारले रासायनिक मलको मात्र भर नपर्न र विकल्पमा प्राङ्गारिक मलको प्रयोग बढाउन आग्रह गरे।
“अन्तर्राष्ट्रिय परिवेशले असर नपारे यस वर्ष मलको अभाव हुँदैन, तर हामीले आन्तरिक स्रोत र प्राङ्गारिक मलको प्रयोगका लागि पनि तयारी अवस्थामा रहनुपर्छ,“ उनले भने। उनले कृषिमा यान्त्रिकीकरणले श्रमशक्ति र लागत घटाउने भएकाले यसले कृषि क्षेत्रलाई नयाँ दिशा दिने विश्वास समेत व्यक्त गरे।
कैलालीमा पहिलो पटक मेसिनबाट रोपाइँ सुरु भएकाे छ । प्रधानमन्त्री कृषि आधुनिकीकारण परियोजना, परियोजना कार्यान्वयन एकाइ कैलालीको आयोजनामा पहिलो पटक धान रोप्ने मेसिनको प्रयोग गरिएको हो।
कैलालीको भजनी, टीकापुर र जानकी लगायतका क्षेत्रहरू बर्खाको समयमा डुबानमा पर्ने भएकाले यहाँका किसानहरूले चैते धानलाई प्राथमिकता दिँदै आएका छन्।
परियोजना कार्यान्वयन एकाइ कैलालीका कृषि अधिकृत भीष्मराज रेग्मीका अनुसार हाल बर्दियाबाट ल्याइएको मेसिनले बीजबृद्धि कृषि सहकारी संस्थाको दुई बिघा जमिनमा धान रोपिएको छ।
साथै, उक्त सहकारीलाई १६ लाख ५० हजार रुपैयाँ मूल्य पर्ने मेसिन खरिद गरेर दिने तयारी भइरहेको उनले जानकारी दिए। कैलालीमा आधुनिक मेसिनको प्रयोगसँगै चैते धान खेतीमा किसानहरूको उत्साह थपिएको छ।