काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभर खटिएका म्यादी प्रहरीलाई बिहीबार बिदाइ गरिने भएको छ। नेपाल प्रहरीका प्रवक्ता अवि नारायण काफ्लेले नेपाल न्यूज बैंकसँग कुरा गर्दै म्यादी प्रहरीलाई विशेष धन्यवादसहित प्रमाणपत्र दिएर औपचारिक रूपमा बिदाइ गर्ने तयारी गरिएको बताए।
उनका अनुसार नेपाल प्रहरीको कार्यविधिअनुसार म्यादी प्रहरीलाई भेला गरेर मौखिक रूपमा पनि धन्यवाद दिइनेछ। “हामी भोलि उहाँहरूलाई विशेष धन्यवादसहित प्रमाणपत्र दिएर बिदाइ गर्छौं। कार्यविधिअनुसार सबैलाई भेला गरेर मुखैले पनि धन्यवाद दिने व्यवस्था गरिएको छ, उनले भने। काफ्लेले सम्भव भएसम्म कार्यक्रम आयोजना गरेर विभिन्न स्थानका कार्यालय प्रमुखहरूको उपस्थितिमा सामूहिक फोटो खिच्ने र चियापान कार्यक्रम पनि गर्ने योजना रहेको बताए।
उनले म्यादी प्रहरीहरूको काम निकै प्रभावकारी भएको उल्लेख गर्दै उनीहरूको सहयोग, अनुशासन र कर्तव्यनिष्ठाका कारण निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न सम्भव भएको बताए। उहाँहरूको सहयोग र साथले अनुशासन कायम राख्दै कुनै ठूलो घटना बिना नै चुनाव शान्तिपूर्ण, व्यवस्थित र निष्पक्ष रूपमा सम्पन्न गर्न सफल भयौँ,” काफ्लेले भने। उनले निर्वाचन सफल बनाउन नेपाल प्रहरीका सदस्यहरू, अन्य सुरक्षा निकाय, निर्वाचनमा खटिएका कर्मचारी तथा नेपाल सरकारका विभिन्न निकायहरूको पनि महत्वपूर्ण भूमिका रहेको बताए। नेपाल प्रहरीका अनुसार देशभर सम्पन्न निर्वाचनका क्रममा १ लाख ३३ हजार ९ सय ३८ जना म्यादी प्रहरी परिचालन गरिएको थियो।