काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत फागुन २१ मा सम्पन्न निर्वाचनको मतगणना प्रक्रिया सकिएसँगै निर्वाचन आयोगले निर्वाचनलाई लक्षित गरी स्थापना गरिएका विभिन्न विशेष इकाई तथा समन्वय केन्द्रहरू बन्द गरेको जनाएको छ।
निर्वाचनको समग्र व्यवस्थापन, सूचना प्रवाह, समन्वय तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन आयोगले ती इकाईहरू सञ्चालनमा ल्याएको थियो। आयोगका अनुसार मतदान र मतगणनाको काम सम्पन्न भइसकेकाले मिति २०८२ फागुन २७ गतेदेखि लागू हुनेगरी ती इकाईहरू बन्द गरिएको हो। निर्वाचनसम्बन्धी सूचना प्रभावकारी रूपमा सम्प्रेषण गर्न तथा सरोकारवाला निकायबीच समन्वय कायम गर्न आयोगले २०८२ पुस ११ गतेदेखि निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना गरेको थियो। त्यसैगरी मतदाताका जिज्ञासा सम्बोधन गर्न २०८२ माघ ५ गतेदेखि कल सेन्टर सञ्चालन गरिएको थियो भने सुरक्षा निकायबीच सहकार्य र समन्वयका लागि २०८२ माघ ११ गतेदेखि संयुक्त निर्वाचन सञ्चालन केन्द्र पनि सञ्चालनमा ल्याइएको थियो।
आयोगका अनुसार ती इकाईहरू सञ्चालनमा रहँदा सूचना सदाचार प्रवर्धन इकाईले निर्वाचनसँग सम्बन्धित ९९८ वटा हानिकारक सूचना पहिचान गरी सम्बन्धित नियामक निकायमा पठाएको थियो। त्यस्तै विद्युतीय मतदाता शिक्षा इकाईले निर्वाचन प्रक्रिया, मतदाता शिक्षा र सचेतनासम्बन्धी ७०४ वटा सामग्री तयार गरी आयोगका डिजिटल माध्यममार्फत सार्वजनिक गरेको जनाएको छ। यसैबीच, कल सेन्टरमार्फत मतदाता नामावली, निर्वाचन आचारसंहिता तथा निर्वाचन प्रक्रियासम्बन्धी विभिन्न विषयमा आएका ८ हजार २२० जिज्ञासाको सम्बोधन गरिएको पनि आयोगले जानकारी दिएको छ।