काठमाडौँ। जिल्ला निर्वाचन कार्यालय रामेछापले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका सबैलाई आफ्नो निर्वाचन खर्चको विवरण सार्वजनिक गरी कार्यालयमा बुझाउन पत्र पठाएको छ। जिल्ला निर्वाचन अधिकारी नारायण लामिछानेका अनुसार, गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रामेछापबाट उम्मेदवार बनेकाहरूले ३५ दिनभित्र आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ।
सोही प्रावधानअनुसार उम्मेदवारहरूलाई पत्राचार गरिएको उनले बताए। उहाँका अनुसार मंगलबारसम्म कुनै पनि उम्मेदवारले आफ्नो खर्च विवरण सार्वजनिक गरी कार्यालयमा पेस नगरेको अवस्था छ। यसलाई ध्यानमा राख्दै जिल्ला निर्वाचन कार्यालयले सूचना जारी गर्दै सम्बन्धित उम्मेदवारलाई यथाशीघ्र खर्च विवरण सार्वजनिक गरी कार्यालयमा पेस गर्न आग्रह गरेको हो। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ अनुसार उम्मेदवारहरूले निर्वाचनका क्रममा गरेका सम्पूर्ण खर्च विवरण सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको छ। उक्त विवरण निर्देशिकाको अनुसूची–४१ को ढाँचाअनुसार तयार पारेर बुझाउनुपर्ने व्यवस्था छ। निर्वाचन अधिकारी लामिछानेले भने, उम्मेदवारहरूले तोकिएको समयसीमाभित्र आफू वा आफ्नो प्रतिनिधिमार्फत खर्च विवरण निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालयमा बुझाउनुपर्ने कानुनी व्यवस्था रहेको छ।