काठमाडौँ। नेपालमा बढ्दो वायु प्रदूषण नियन्त्रण र वायु गुणस्तर सुधारका लागि विश्व बैंकले करिब ७ अर्ब ६४ करोड रुपैयाँ बराबरको ऋण उपलब्ध गराउने निर्णय गरेको छ। विश्व बैंकका कार्यकारी निर्देशकहरूको बैठकले नेपाललाई ५ करोड २० लाख अमेरिकी डलर ऋण दिने प्रस्ताव स्वीकृत गरेको हो।
प्राप्त ऋण सहयोगबाट ‘नेपाल क्लिन एयर एण्ड प्रस्पेरिटी प्रोजेक्ट’ सञ्चालन हुने बताइएको छ। परियोजना विशेषगरी काठमाडौँ उपत्यका र तराईका उच्च प्रदूषण भएको क्षेत्रहरूमा केन्द्रित हुनेछ। यस अन्तर्गत करिब ४०० औद्योगिक र व्यावसायिक उद्यमलाई धुँवारहित बनाउने लक्ष्य राखिएको छ। उद्योगहरूमा स्वच्छ प्रविधि प्रयोग, प्रदूषण नियन्त्रण उपकरण जडान तथा वातावरणमैत्री उत्पादन प्रणाली लागू गराउन सहयोग गरिनेछ। परियोजना उद्योग विभाग र वातावरण विभाग मार्फत कार्यान्वयन हुने जानकारी दिइएको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार काठमाडौँ उपत्यका दक्षिण एसियाकै प्रदूषित शहरमध्ये एक मानिन्छ। सवारी साधनको धुँवा, उद्योगबाट निस्कने धुँवा, सडक धुलो र खुला रूपमा फोहोर जलाउने प्रवृत्तिले वायु प्रदूषण बढाएको विज्ञहरू बताउँछन्। सरकारले हालै स्वच्छ ऊर्जा प्रयोग, सार्वजनिक यातायात विद्युतीय बनाउने, र उद्योगहरूमा वातावरणीय मापदण्ड कडाइका साथ लागू गर्ने नीति अघि बढाएको छ। विज्ञहरूको भनाइ अनुसार, विश्व बैंकको यो सहयोगले प्रदूषण नियन्त्रण, जनस्वास्थ्य सुधार र दिगो आर्थिक विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।