काठमाडौँ। भारतीय क्रिकेट टोलीका मुख्य प्रशिक्षक गौतम गम्भीरले खेलाडीहरूलाई सामाजिक सञ्जालको नकारात्मक प्रभावबाट जोगाउनु अत्यावश्यक भएको बताएका छन्। उनले सामाजिक सञ्जालमा फैलिने ‘टक्सिक’ वातावरणले खेलाडीहरूको ध्यान विचलित हुने भएकाले टोली सफलताका लागि यसबाट टाढा राख्नु आवश्यक रहेको बताए।
हालै भारतले टि–२० विश्वकप २०२६ मा उपाधि जितेपछि सञ्चारमाध्यमसँग कुरा गर्दै गम्भीरले भने, प्रतियोगिताको क्रममा टोलीले “बाहिरी डिस्टर्ब” घटाउने रणनीति अपनाएको थियो, जसले खेलाडीहरूलाई आलोचना र अपेक्षाको दबाबबिना प्रदर्शनमा ध्यान केन्द्रित गर्न मद्दत गरेको थियो।
उनका अनुसार आजको समयमा सामाजिक सञ्जाल अत्यन्तै नकारात्मक भएको छ र खेलाडीहरू पनि मानिस हुन्, जसले गल्ती गर्नु स्वाभाविक हो। प्रशिक्षकको रूपमा आफ्नो मुख्य काम आलोचकलाई गलत सावित गर्नु नभई खेलाडीलाई समर्थन र सुरक्षा प्रदान गर्नु रहेको उनले स्पष्ट पारे। गम्भीरले सामाजिक सञ्जालमा भ्युज र लाइकका लागि नकारात्मक कथानक बनाइने प्रवृत्ति बढेको भन्दै खेलाडीलाई यस्तो वातावरणबाट जोगाउनु आवश्यक रहेको धारणा व्यक्त गरे। साथै, उनले आक्रामक खेलको स्वाभाविकतालाई बुझ्दै, देशका लागि खेल्दा खेलाडीहरूले जितका लागि पूर्ण प्रयास गर्ने भएकाले अनावश्यक आलोचना गर्नु हुँदैन भने।