काठमाडौँ । धरान उपमहानगरपालिका–८ स्थित अटल ग्यारेजमा मंगलबार राति पार्किङमा राखिएका ६ वटा बसमा आगलागी भएको छ। यस घटनामा ३ वटा बस पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने बाँकी ३ वटा बसमा आंशिक क्षति भएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काका अनुसार प्रारम्भिक अनुसन्धानमा आगलागी नियोजित भएको संकेत भेटिएको छैन। घटनाको कारण बसभित्र तार सर्ट भएर आगो लागेको देखिएको छ। सीसीटीभी फुटेजअनुसार कुनै शंकास्पद गतिविधि पनि देखिएको छैन।
आगो सुरु भएको बस को. १ ख ६२७४ नम्बरको कृष्ण बस हो, जुन विराटनगर–धरान रुटमा सञ्चालन हुँदै आएको थियो र यसअघि पनि करिब एक महिनाअघि आगलागी भएको थियो। पूर्ण रूपमा जलेर नष्ट भएका बाँकी दुई बस क्रमशः प्र. १–०१–००१ ख ४०३७ नम्बरको कन्काइ यातायात र बा. ४ ख ५७५९ नम्बरको पाथिभरा दर्शन बस हुन्। आंशिक क्षति पुगेका बसहरूमा को. १ ख ३८४७ नम्बरको सुपर मादेन, बा. ५ ख ५८१४ र बा. ५ ख ५८०९ नम्बरका बसहरू पर्दछन्। डीएसपी खड्काले थप अनुसन्धान जारी रहेको बताएका छन्।