काठमाडौँ । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आजदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ।
कम्पनीले जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५।२६ प्रतिशत बराबर ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँको ४२ लाख ३० हजार ६६८ कित्ता शेयर निष्कासन गर्न अनुमति पाएको हो। यसमा १२ लाख कित्ता साधारण शेयर भोजपुर जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। त्यसैगरी सर्वसाधारण समूहमा पर्ने शेयरमध्ये ३ लाख ३ हजार ६७ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, १ लाख ५१ हजार ५३३ कित्ता सामूहिक लगानी कोषका लागि र ६० हजार ६१३ कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको कम्पनीले जनाएको छ। यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित स्थानीयका लागि आवेदन छिटोमा चैत ११ गतेदेखि र ढिलोमा चैत २६ गतेसम्म खुला रहनेछ। त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन चैत १ गतेदेखि चैत ११ गतेसम्म दिन सकिनेछ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।