काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मी क्लब र गोल्डेनगेट इन्टरनेसनल क्लबले हिमालयन जाभा नेशनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा विजयी सुरुवात गरेका छन्।
नेपाल बास्केटबल संघ (नेवा) को आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा मंगलबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आर्मीले केभिसी हाउण्ड्सलाई १०७–७९ ले पराजित गर्दै जित हात पारेको हो। खेलको पहिलो क्वाटरमा आर्मीले २९–१७ को अग्रता बनाएको थियो। दोस्रो क्वाटर २४–२२, तेस्रो क्वाटर २८–२१ र चौथो क्वाटर २३–१९ ले जित्दै आर्मीले खेल आफ्नो पक्षमा पार्यो। आर्मीका निश्चल महर्जनले सर्वाधिक २७ अंक जोड्दै उत्कृष्ट प्रदर्शन गरे र खेलको मोस्ट भ्यालुएबल प्लेअर (एमभीपी) घोषित भए। पहिलो संस्करणमा सहभागी नभएको आर्मीले यस पटक भने उद्घाटन खेलमै प्रभावशाली जित निकाल्दै प्रतियोगितामा राम्रो सुरुवात गरेको छ।
मंगलबार नै भएको अर्को खेलमा गोल्डेनगेट इन्टरनेसनल क्लबले साविक विजेता टाइम्स इन्टरनेसनल क्लबलाई ९२–७५ ले हराउँदै प्रतियोगितामा विजयी सुरुवात गर्यो। खेलको पहिलो क्वाटर टाइम्सले २५–१८ ले जित्दै राम्रो सुरुवात गरेको थियो। तर दोस्रो क्वाटरमा गोल्डेनगेटले २५–१९ र तेस्रो क्वाटर ३०–१० ले जित्दै ७३–५४ को अग्रता बनायो। चौथो क्वाटर टाइम्सले २१–१९ ले जिते पनि समग्र खेल जित्न भने पर्याप्त भएन। गोल्डेनगेटका निकेश मगरले उत्कृष्ट प्रदर्शन गर्दै ३७ अंक बनाए। उनी खेलको मोस्ट भ्यालुएबल प्लेअर एमभीपी घोषित भए। राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले एक कार्यक्रमबीच हिमालयन जाभा नेशनल बास्केटबल लिगको औपचारिक उद्घाटन गरेका थिए।