काठमाडौँ। सुर्खेतमा कक्षा ११ मा अध्ययनरत १६ वर्षीया छात्रा इनिसा बिकको शंकास्पद मृत्युको घटना छानबिनको माग गर्दै दलित कानुन विद्यार्थी समाजले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गरेको छ। घटनाको प्रकृतिले ’सामूहिक बलात्कारपछि हत्या’ भएको संकेत गरेको भन्दै समाजले आज आयोगमा उजुरी बुझाएको हो।
समाजका अध्यक्ष शिशिर विश्वकर्माद्वारा हस्ताक्षरित निवेदनमा उक्त घटनालाई नेपालको संविधानले प्रत्याभूत गरेको ’सम्मानपूर्वक बाँच्न पाउने हक’ र ’हिंसामुक्त जीवनको अधिकार’ माथिको गम्भीर प्रहार भनिएको छ।
के भएको थियो घटना?
गत फागुन २४ गते बिहान सुर्खेतको वीरेन्द्रनगरमा ट्युसन पढ्न हिँडेकी इनिसा अबेरसम्म घर नफर्किएपछि परिवारले खोजी सुरु गरेको थियो। सोही क्रममा एक अज्ञात व्यक्तिले फोन गरी उनी सहिद पार्कमा बेहोस अवस्थामा रहेको जानकारी दिएका थिए। परिवार घटनास्थल पुग्दा उनी रगताम्मे र चिन्ताजनक अवस्थामा फेला परेकी थिइन्। उपचारका क्रममा उनको मृत्यु भएपछि घटनाले झन् रहस्यमयी रूप लिएको हो।
दलित कानुन विद्यार्थी समाजले उजुरीमार्फत राज्यका निकायहरूलाई जवाफदेही बनाउन माग गरेको छ। “शरीरभरि रगत लागेको र पार्कमा बेहोस अवस्थामा फेला पर्नुले यो सामान्य मृत्यु होइन भन्ने स्पष्ट पार्छ,“ उजुरीमा भनिएको छ, “यस्तो जघन्य अपराधमा संलग्न जोकोहीलाई पनि कानुनी उन्मुक्ति दिनु हुँदैन।“
आयोगले उजुरी बुझ्दै घटनाको सत्यतथ्य बुझ्न र आवश्यक कदम चाल्न स्थानीय प्रशासनसँग समन्वय गर्ने आश्वासन दिएको छ।
-1773152488.jpg)