काठमाडौँ । काठमाडौँस्थित ब्रिटिश दूतावासले हालै सम्पन्न ऐतिहासिक निर्वाचनमा प्राप्त सफलताका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई औपचारिक बधाई दिएको छ।
दूतावासले एक विज्ञप्ति जारी गर्दै रास्वपाको चुनावी उपलब्धिलाई कदर गरेको हो। संयुक्त अधिराज्य (बेलायत)ले नेपालको लोकतान्त्रिक प्रक्रिया र निर्वाचनको ऐतिहासिक महत्त्वलाई जोड दिँदै रास्वपालाई शुभकामना दिएको छ। नेपालस्थित बेलायत दुतावासले आज सामाजिक सञ्जाल एक्समा शुभकामना दिदैँ उक्त कुरा बताएको हो ।
ब्रिटिश दूतावासले नयाँ सरकार गठन भएलगत्तै सहकार्य गर्न आफूहरू तयार रहेको स्पष्ट पारेको छ। विज्ञप्तिमा भनिएको छ, “हामी आगामी ’१०० वर्षको मित्रता’ निर्माणका लागि सरकार गठन भएपछि नयाँ सरकारसँग मिलेर काम गर्न उत्सुक छौँ।“
नेपाल र बेलायतबीचको दुई शताब्दी लामो कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने सन्दर्भमा दूतावासको यो सन्देशलाई अर्थपूर्ण रूपमा हेरिएको छ। निर्वाचनपछि नयाँ शक्तिहरूको उदय भइरहेको अवस्थामा बेलायतले नेपालको समृद्धिका लागि नयाँ सरकारसँगको साझेदारीलाई निरन्तरता दिने संकेत दिएको छ।
