काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को आगामी १२ औँ विश्व सम्मेलन (जिसी) र अन्तर्राष्ट्रिय साधारण सभालाई व्यवस्थित रूपमा सम्पन्न गर्न गठित उच्चस्तरीय आयोजक समितिको बैठक आज परराष्ट्र मन्त्रालयमा सम्पन्न भएको छ। परराष्ट्र मन्त्री श्री बालानन्द शर्माको अध्यक्षतामा बसेको उक्त बैठकले आगामी मार्च १४ देखि १६ सम्म काठमाडौँमा हुने सम्मेलनको तयारीबारे छलफल गरेको छ।
बैठकलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री शर्माले नेपालको समग्र विकासका लागि गैरआवासीय नेपालीहरूको ज्ञान, सीप र पूँजीको ठूलो महत्व रहेको उल्लेख गरेका हुन । उनले विश्वभर छरिएर रहेका नेपालीहरूलाई मातृभूमिसँग जोड्ने यो सम्मेलनलाई भव्य र सफल बनाउन सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउँदै आयोजनाको सफलताका लागि शुभकामना व्यक्त गरेका छन् ।
बैठकमा सम्मेलन आयोजनासँग सम्बन्धित कार्यविधिगत पक्षहरू, सुरक्षा, व्यवस्थापन र अन्य प्राविधिक विषयहरूमा आधारित मुख्य बुँदाहरू प्रस्तुत गरिएका थिए । उच्चस्तरीय समितिको उक्त बैठकमा सरकारी अधिकारी र एनआरएनएका नेतृत्वको बाक्लो उपस्थिति थियो । बैठकले सम्मेलनको सफल व्यवस्थापनका लागि आगामी दिनमा समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय समेत गरेको छ।
