काठमाडौँ । पश्चिम एसिया क्षेत्रमा बढ्दो तनाव र विकसित परिस्थितिको बीचमा त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र हित सुनिश्चित गर्न परराष्ट्र मन्त्रालयले सक्रियता बढाएको छ। परराष्ट्र सचिव श्री अमृत बहादुर राईको संयोजकत्वमा गठित आकस्मिक उद्धार टोलीको दोस्रो बैठक आज परराष्ट्र मन्त्रालयमा सम्पन्न भएको छ ।
बैठकमा पश्चिम एसिया क्षेत्रमा रहेका नेपाली नागरिकहरूको सुरक्षा र हित संरक्षणका लागि नेपाल सरकारले हालसम्म गरेका प्रयास र प्रगतिबारे विस्तृत समीक्षा गरिएको हो ।
बैठकले परिस्थिति जटिल बनेमा नेपाली नागरिकहरूलाई स्वदेश फर्काउनका लागि हवाई उडान सञ्चालन गर्ने सम्भावनाबारे आवश्यक अध्ययन र तयारी गर्ने निर्णय समेत गरेको मन्त्रालयले जनाएको छ ।
साथै, मन्त्रालयले स्थापना गरेको इमर्जेन्सी कन्ट्रोल रुम र सम्बन्धित देशमा रहेका नेपाली नियोगहरू (दूतावास) मार्फत सम्पर्कमा आएका नेपालीहरूलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउने निर्णय गरिएको छ।
पश्चिम एसियामा रहेका नेपालीहरूको सुरक्षाका लागि यो टोलीले समग्र अवस्थाको निरन्तर अनुगमन र समन्वयात्मक कार्य गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।