काठमाडौं । बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने र मूल्य बढी लिने जोकोहीलाई कानुनी कारबाही गर्न ग्यास विक्रेता महासंघ नेपालले सरकारसँग माग गरेको छ ।
महासंघले मंगलबार विज्ञप्ति जारी गर्दै बजारमा ग्यास अभाव भएको र केही ठाउँमा विक्रेताहरूले अनुचित मूल्य लिएर उपभोक्तालाई मर्कामा पारेको समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मध्यपूर्वमा देखिएको पछिल्लो अशान्तिका कारण भविष्यमा ग्यास नपाइने हो कि भन्ने चिन्ता उपभोक्तामा पर्नु स्वाभाविक भएको महासंघले उल्लेख गरेको छ ।
तर, यस्तो विषम परिस्थितिको फाइदा उठाएर सरकारले तोकेको मूल्यभन्दा बढीमा ग्यास बिक्री वितरण गर्नु गम्भीर अपराध भएको महासंघको ठहर छ ।
महासंघले देशभरिका आमविक्रेतालाई कुनै पनि गैरकानुनी काम नगर्न र जिम्मेवार भएर सेवा प्रवाह गर्न विज्ञप्ति मार्फत अपिल गरेको छ ।