काठमाडौँ । लामो समय विवाद र गतिरोधपछि अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल फुटबल खेलाडी संघबीच सहमति भएको छ। दुबै पक्षबीचको छलफलपछि ए–डिभिजन लिगको उद्घाटन खेल आउँदो चैत ३० मा गर्ने निर्णय तय भएको छ।
खेलाडी संघका मागका अन्य बुँदामा पनि सहमति भएपछि एन्फा प्रवक्ता सुरेश शाहले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन्। ए–डिभिजन लिग १००० दिनभन्दा बढी समयदेखि सुरु हुन सकेको थिएन र खेलाडी संघको लामो संघर्षपछि अब मिति तय भएको हो। गत आइतबार खेलाडी संघले विभिन्न माग राख्दै एन्फा मुख्यालयमा तालाबन्दी गरेको थियो। सहमतिपछि आजै मुख्यालयको ताला खोलिएको छ। खेलाडी संघका अध्यक्ष विक्रम लामाले भने, “लामो समयको संघर्षपछि एन्फाले लिग सञ्चालन गर्ने स्पष्टता दिएको छ र मितिसमेत तोकेको छ। अब हामी नियमित रूपमा खेल सुरु हुने दिनको तयारीमा छौं।”
एन्फा प्रतियोगिता निर्देशक संजीव मिश्रका अनुसार, उद्घाटन खेल चैत ३० मा हुनेछ भने नियमित खेल वैशाख २० देखि सुरु हुने योजना छ। थ्री–स्टार क्लब र एपीएफ क्लब मध्ये कुन टोली ए–डिभिजनमा रहने भन्ने विषय आधिकारिक निर्णय आएपछि मात्र टुंगो लाग्नेछ। दुवै पक्षका प्रतिनिधिहरू छलफलमा सहभागी थिए। खेलाडी संघबाट अध्यक्ष विक्रम लामा, विकेश कुथु, रोहित चन्द, विराज महर्जन र अञ्जन विष्ट सहभागी थिए भने एन्फाबाट सचिवालयका सदस्य, महासचिव किरण राई, इन्द्रमान तुलाधार, रविन्द्र जोशी र प्रवक्ता सुरेश शाह उपस्थित थिए। एन्फा अध्यक्ष उक्त समय उपस्थित भएनन्।