काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वले विश्वव्यापी प्राकृतिक ग्यास आपूर्ति शृंखलामा असर पुर्याउँदा भारतका होटल र रेष्टुरेन्ट व्यवसाय पनि प्रभावित हुन थालेका छन्। कम आपूर्तिका कारण व्यवसायीहरूले सरकारसँग उद्योगका लागि ग्यास आपूर्ति सुनिश्चित गर्न माग गरेका छन्।
कर्नाटकमा होटल व्यवसायीहरूले ग्यास अभावका कारण दैनिक सञ्चालनमा समस्या भएको बताएका छन्। होटल ओनर्स एसोसिएसनका निर्देशक सन्तोष माल्नाडका अनुसार, सरकारले व्यावसायिक सिलिन्डर आपूर्ति सीमित गर्दा होटल उद्योग संकटमा परेको छ। उनले भने, सरकारले स्वास्थ्य, कृषि र शिक्षाजस्ता क्षेत्रलाई प्राथमिकता दिँदै व्यवसायिक सिलिन्डर उपलब्ध गराउन निर्देशन दिएको छ। तर होटल उद्योगका लागि सिलिन्डर बिना सञ्चालन सम्भव छैन। उता तमिलनाडु ट्रेडर्स युनियन फेडेरेसनले पनि राज्यभर साना होटल तथा खाद्य व्यवसायहरूमा एलपीजी अभाव देखिएको भन्दै चिन्ता व्यक्त गरेको छ। सीमित आपूर्तिका कारण केही होटलहरूले मेनु घटाउँदै उपलब्ध ग्यास अनुसार मात्र सेवा सञ्चालन गरिरहेका छन्।
घरेलु उपभोक्ताका लागि एलपीजी आपूर्ति भने अवरुद्ध नभएको छ। एलपीजी एसोसिएसनका राष्ट्रिय उपाध्यक्ष आरके गुप्ताले भने, “घरेलु आपूर्तिमा कुनै कमी छैन। व्यावसायिक सिलिन्डर वितरण रोकिएको छ, तर अस्पताल र शिक्षण संस्थालाई अपवाद दिइएको छ।” भारत सरकारले प्राकृतिक ग्यास आपूर्ति व्यवस्थापनका लागि नयाँ नियम घोषणा गरेको छ। युद्धका कारण हर्मुज जलमार्ग हुँदै हुने तरल प्राकृतिक ग्यास ढुवानी प्रभावित भएको र केही आपूर्तिकर्ताले प्राथमिकता क्षेत्रतर्फ आपूर्ति मोडेको जनाइएको छ। विश्लेषकहरूले भने मध्यपूर्व द्वन्द्व लामो समयसम्म जारी रहे दक्षिण एसियाली अर्थतन्त्रमा पनि दबाब पर्न सक्ने चेतावनी दिएका छन्।