रुकुम । रुकुम पश्चिममा बिहे हेर्न गएका तीन युवतीमध्ये दुई जनाको शव भेटिएको छ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३ भाग्ने नजिकै सानोभेरी नदीमा उनीहरूको शव भेटिएको हो ।
१४ वर्षीया कल्पना ओली र १२ वर्षीया उर्मिला ओलीको शव नदीमा भेटिएको रुकुम पश्चिमका डीएसपी बेदबहादुर पौडेलले जानकारी दिए ।
उनका अनुसार शुरूमा उर्मिलाको शव भेटिएको थियो । उनको शव भेटिएको एक÷डेढ मिटर तल कल्पनाको शव भेटिएको डीएसपी पौडेलले बताए ।
उनीहरूसँगै बिहे हेर्न गएकी १४ वर्षीया सपना ओली बेपत्ता छन् । उनीहरू सोमबार बेलुका पारिपट्टीको गाउँमा रहेको आफन्तको बिहे हेर्न गएका थिए । बिहे हेरेर घर फर्किने क्रममा उनीहरू पुल नतरेर गाडी वारपार गर्न बनाइएको नदीको बाटो फर्किएका थिए ।
त्यसैबेला उनीहरूलाई नदीले बगाएको आशंका गरिएको छ । बिहे हेर्न उनीहरू मंगलबार बिहानसम्म पनि घर नफर्किएपछि आफन्तले खोजी गरेका थिए । त्यसक्रममा शुरूमा उर्मिलाको शव भेटिएको थियो ।
बेपत्ता सपनाको खोजी भइरहेको डीएसपी पौडेलले बताए । ‘हामीले तीनै जनाका आफन्तसँग कुरा ग¥यौं, नानीहरू नदीपारी बिहे हेर्न गएका रहेछन्’, पौडेलले भने, ‘सपनाको अझै खोजी गरिरहेका छौं । यस विषयमा थप अनुसन्धान गरिरहेका छौं ।’