काठमाडौँ । शिखर पावर डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणका लागि खुला गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ)मा आवेदन दिने आज फागुन २६ गते अन्तिम दिन रहेको छ। इच्छुक लगानीकर्ताले आजसम्म मात्र उक्त आईपीओमा आवेदन दिन सक्नेछन्।
कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयर बाँडफाँट गरिसकेको छ। त्यसपछि दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि आईपीओ खुला गरिएको हो। कम्पनीले ९८ करोड रुपैयाँ जारी पूँजीको ३२।६५ प्रतिशत बराबर ३२ लाख कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको थियो। यसमध्ये ९ लाख ८० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याइएको थियो भने २ लाख २२ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्रदान गरिएको थियो। यस्तै, १ लाख ११ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँडफाँट भइसकेको छ।
कर्मचारीहरूका लागि ४४ हजार ४०० कित्ता छुट्याइएपछि बाँकी रहेको १८ लाख ४२ हजार ६०० कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा राखिएको हो। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य रहेको यस आईपीओको कुल मूल्य १८ करोड ४२ लाख ६० हजार रुपैयाँ बराबर रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका तोकिएका शाखामार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।