काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट आएको छ। ब्रेन्ट क्रूड करिब ८.५ प्रतिशतले घटेर प्रति ब्यारल ९२.५० अमेरिकी डलर पुगेको छ भने अमेरिकामा कारोबार हुने तेल करिब ९ प्रतिशतले घटेर प्रति ब्यारल ८८.६० डलरमा आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
बीबीसीका अनुसार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध चाँडै समाप्त हुने बताएका छन्, जसले अन्तर्राष्ट्रिय तेल मूल्यमा गिरावट ल्याएको हो। ट्रम्पले मध्यपूर्वको तनावबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गरेको पनि उल्लेख गरिएको छ। यसैबीच, ट्रम्पले इरानलाई चेतावनी दिएका छन्।
उनले टुर्थ सोशलमार्फत् भनेका छन्, ‘यदि इरान स्ट्रेट अफ होर्मुजमा तेल ढुवानीमा अवरोध सिर्जना गर्छ भने अमेरिका अहिलेसम्म गरेको आक्रमणको २० गुणा बढी शक्तिशाली हमला गर्नेछ।’ विश्वव्यापी तेल ढुवानीमा झण्डै २० प्रतिशत तेल यही समुद्री मार्गबाट जाने भएकाले इजरायल–इरान युद्धका कारण आवागमन घट्दा मूल्यमा तीब्र उतार–चढाव आएको हो। ट्रम्पले इरानका लक्ष्यलाई निशाना बनाउने र सम्भावित विनाशको चेतावनी दिएका छन्, तर यस अवस्थाले तेल बजारमा अस्थिरता सिर्जना गरेको छ।