काठमाडौँ । एनपीएल टोली पोखरा एभेन्जर्सको पोष्टमा अनपेक्षित प्रतिक्रिया दिँदै न्यूजिल्याण्डका क्रिकेट खेलाडी जिम्मी निसमले कमेन्ट हटाएका छन्।आइतबार राति टी–२० विश्वकपमा भारतसँग पराजित भएको न्यूजिल्याण्ड टिमका सदस्य निसमले एभेन्जर्सको पोष्टमा ‘खेलाडीहरुलाई पैसा तिर’ भन्ने कमेन्ट गरेका थिए। टोलीले पोष्टमा लेखेको थियो, ‘उनले पोखरा एभेन्जर्सका लागि खेलेकोमा हामीलाई गर्व छ।
न्यूजिल्याण्ड उपविजेतामा सिमित हुनु दुर्भाग्यपूर्ण रह्यो।’ पोखरा एभेन्जर्सका मालिक सुबोध त्रिपाठीका अनुसार, कमेन्ट हटाएपछि यस विषयमा खेलप्रेमी र मिडियामा चासो बढेको छ। निसमले पहिलो संस्करणमा जनकपुर बोल्ट्सबाट खेल्दै टोलीलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका निभाएका थिए। दोस्रो संस्करणमा उनी पोखरा एभेन्जर्समा अन्तिम समयमा अनुबन्धित भएका थिए र सम्झौताअनुसार चार खेल मात्र खेलेका थिए। त्रिपाठीले बताए अनुसार, निसमले एनपीएलका लागि कुनै एड्भान्स रकम लिएका थिएनन्। नेपाल राष्ट्र बैंकको स्वीकृति पाएलगत्तै ५० प्रतिशत रकम पठाउने र बाँकी २८ दिनभित्र पठाउने व्यवस्था गरिएको थियो। तर, राष्ट्रिय खेलकुद परिषद्को सिफारिस ढिलाइ हुँदा अहिलेसम्म भुक्तानी हुन सकेको छैन।