काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणतर्फ पुगेसँगै नव निर्वाचित सांसदहरूको शपथ ग्रहण र संसद् अधिवेशनको तयारी सुरु भएको छ। संवैधानिक व्यवस्थाअनुसार निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको ३० दिनभित्र संसद्को अधिवेशन आह्वान गर्नुपर्ने प्रावधान रहेको छ।
तर, आगामी संसद्का बैठक तथा शपथ ग्रहण कार्यक्रम सञ्चालन गर्ने स्थायी हल अझै पूर्णरूपमा तयार भएको छैन। जेनजी आन्दोलनका क्रममा संसद् भवनमा आगलागी भएपछि नियमित बैठक सञ्चालनका लागि वैकल्पिक स्थान आवश्यक परेको हो। त्यसको विकल्पका रूपमा सिंहदरबार परिसरभित्र निर्माणाधीन नयाँ संसद् भवनभित्रको बहुउद्देश्यीय हललाई अस्थायी रूपमा व्यवस्थापन गर्ने तयारी भइरहेको छ। संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार उक्त हलको निर्माण अन्तिम चरणमा पुगेको छ र केही हप्ताभित्रै सम्पन्न हुने अपेक्षा गरिएको छ।
शपथ ग्रहण कार्यक्रममा सबैभन्दा जेष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ लिने व्यवस्था छ र त्यसपछि अन्य सांसदहरूलाई शपथ गराइनेछ। यसैबीच नयाँ निर्वाचित सांसदहरूको क्षमता अभिवृद्धिका लागि दुई दिनको अभिमुखीकरण कार्यक्रम पनि सञ्चालन गरिनेछ। प्रवक्ता गिरीले बताए अनुसार, कार्यक्रममा मुख्यतः कानून निर्माण प्रक्रिया, संसद्मा प्रश्न कसरी उठाउने लगायत व्यवहारिक विषयहरूमा प्रशिक्षण दिइनेछ। यस तयारीसँगै नव निर्वाचित सांसदहरूको संसद् प्रवेशको बाटो सहज र व्यवस्थित बनाउने प्रयास जारी छ।