काठमाडौँ। नेपालमा पछिल्लो समय निकै चर्चामा रहेका नेता बालेन्द्र शाह (बालेन)को चुनावी जितले भारतको बैंग्लोरस्थित उनको अध्ययनस्थलमा पनि खुसी छाएको छ। उनलाई पढाएका प्राध्यापकहरूले शाहलाई अनुशासित, मेहनती र लक्ष्यमा केन्द्रित विद्यार्थीका रूपमा सम्झेका छन्।
शाहले भारतको बैंग्लोरमा रहेको निट्ठे मिनाक्षी इन्स्टिच्युट अफ टेक्नोलोजी (एनएमआईटी) बाट स्ट्रक्चरल इन्जिनियरिङमा एमटेक गरेका थिए। निर्वाचन आयोगका अनुसार उनले झापा–५ बाट प्रतिनिधिसभा सदस्यको चुनाव जित्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेका छन्। एनडीटीभीसँगको कुराकानीमा एनएमआईटीका सिभिल इन्जिनियरिङ विभागका प्राध्यापक श्रेयस एभीले शाहलाई समयपालक र पढाइप्रति गम्भीर विद्यार्थीका रूपमा सम्झिए। उनका अनुसार शाह सन् २०१६ मा दुई नेपाली विद्यार्थी सुनिल लम्साल र प्रवीण श्रेष्ठसँगै उक्त कलेजमा भर्ना भएका थिए।
प्राध्यापक श्रेयसका अनुसार शाह स्वभावले शान्त थिए र पढाइमा निकै ध्यान दिन्थे। “उनी कक्षामा धेरै जिज्ञासा राख्ने विद्यार्थी थिए। कतिपय कुरा बुझ्न बेलुकासम्म पनि बसेर छलफल गर्थे,” उनले स्मरण गरे। उनले थपे, “बालेनभित्र र्यापरको प्रतिभा भए पनि कलेज परिसरमा उनले त्यो पाटो खासै देखाउँदैनथे।” एनएमआईटीका उपाध्यक्ष सन्दीप शास्त्रीले पनि शाहलाई कलेजको गर्विलो पूर्वविद्यार्थी भएको बताए। उनका अनुसार शाह मेहनती, अनुशासित र आफ्नो काम समयमै पूरा गर्ने विद्यार्थी थिए। राजनीतिमा आउनुअघि बालेन नेपाली र्याप संगीतका कारण चर्चित थिए। तर कलेज जीवनमा भने उनी आफ्नो शैक्षिक काममा बढी केन्द्रित देखिन्थे। विशेषगरी उनले भूकम्प इन्जिनियरिङसम्बन्धी विषयमा चासो राखेर परियोजनाहरूमा काम गरेका थिए। एनएमआईटीका अधिकारीहरूले भविष्यमा शाह भारत भ्रमणमा आए कलेजमा निमन्त्रणा दिने इच्छा पनि व्यक्त गरेका छन्। उनीहरूले बालेनको सफलतालाई कलेजका लागि गर्वको विषय भएको बताएका छन्।