काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहकारी संस्थाहरूलाई गैरनेपाली नागरिकसँग आर्थिक कारोबार नगर्न आग्रह गरेको छ। महानगरले केही सहकारी संस्थाले विदेशी नागरिकलाई सदस्य बनाएर आर्थिक कारोबार गरिरहेको गुनासो आएपछि यस्तो कार्य तुरुन्त रोक्न निर्देशन दिएको हो। कामपा सहकारी विभागका प्रमुख धुव्रकुमार काफ्लेका अनुसार गैरनेपाली नागरिकलाई सहकारीको सदस्य बनाउनु प्रचलित कानुनविपरीत भएकाले त्यसो नगर्न सबै सहकारीलाई सचेत गराइएको छ।
उनले सहकारी ऐन २०७४ तथा काठमाडौं महानगरपालिकाको सहकारी ऐन २०७४ अनुसार सहकारी संस्थामा नेपाली नागरिक मात्रै सदस्य बन्न सक्ने व्यवस्था रहेको स्पष्ट पारे। महानगरको निर्देशन बेवास्ता गरे कानुनअनुसार कारबाही गरिने पनि उनले बताए। त्यसैगरी सहकारीहरूले सदस्य केन्द्रित भएर बचत तथा ऋण कारोबार सञ्चालन गर्नुपर्ने कानुनी व्यवस्था रहेको महानगरले जनाएको छ। लामो समयदेखि साधारणसभा नगर्ने र प्रतिवेदन नबुझाउने सहकारीलाई महानगरले निगरानीमा राखेको पनि विभागले जनाएको छ। महानगरका अनुसार प्रक्रिया नै नपुर्याई सहकारी खारेज गर्दा बचतकर्ताको रकम जोखिममा पर्न सक्ने भएकाले पहिले प्रतिवेदन संकलन गरी अवस्था स्पष्ट पार्ने र त्यसपछि मात्रै खारेजी प्रक्रिया अघि बढाइनेछ। हाल काठमाडौँ महानगरपालिकामा करिब १,९०० सहकारी संस्था दर्ता छन्, जसमध्ये अधिकांश बचत तथा ऋण सहकारी रहेका छन्।