काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आफ्नो केन्द्रीय कार्यालयमा नेपाल फुटबल खेलाडी सङ्घले गरेको तालाबन्दीप्रति कडा आपत्ति जनाएको छ। सार्वजनिक बिदाको दिन कुनै पूर्व जानकारी बिना गरिएको उक्त तालाबन्दीलाई एन्फाले ‘अप्रत्याशित’, ‘अनुशासनहीन’ र ‘अराजक’ कार्यको संज्ञा दिएको छ।
एन्फा प्रवक्ता सुरेश शाहद्वारा जारी विज्ञप्तिमा वार्ताको ढोका खुला रहँदारहँदै निषेधात्मक कार्य गरिएकोमा खेद प्रकट गरिएको छ।
खेलाडी सङ्घले उठाएका मुख्य मागहरूका सम्बन्धमा एन्फाले आफ्नो धारणा राखेको छ ।
राष्ट्रिय लिग सम्पन्न भएको एक महिना पश्चात् ‘ए’ डिभिजन लिग सुरु गर्न सङ्घ प्रतिबद्ध रहेको र सोही अनुसार तयारी भइरहेको एन्फाले जनाएको छ । तर, कार्यालयमा तालाबन्दी हुँदा प्रशासनिक काम रोकिने भएकाले लिग आयोजनामा झन् बाधा पुग्ने एन्फाको तर्क छ। अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेलको टिकटबाट सङ्कलित केही रकम खेलाडी कल्याण कोषमा जम्मा गर्ने निर्णय कार्यान्वयन गर्न सङ्घ प्रतिबद्ध रहेकाे एन्फाले जानकारी दिएकाे छ ।
एन्फाले खेलाडीकाे पारिश्रमिककाे विषयमा वर्तमान कार्यसमितिले घोषणा गरेको पुरस्कार रकम भुक्तानी भइसकेको र अघिल्ला कार्यसमितिका बाँकी बक्यौताहरू आन्तरिक स्रोतको उपलब्धता अनुसार क्रमिक रूपमा भुक्तानी गर्दै जाने प्रतिबद्धता सङ्घले जनाएको छ।
एन्फाले तालाबन्दीका कारण जारी राष्ट्रिय लिग मात्र नभई, एन्फा यू–१६ लिग, महिला लिग र अन्तर्राष्ट्रिय स्तरका फिफा सिरिज (महिला), हङ्कङसँगको मैत्रीपूर्ण खेल, लाओससँगको एएफसी क्वालिफिकेसन म्याच र साफ यू–२० च्याम्पियनसिपको तयारी समेत प्रभावित हुने जनाएको छ।
तालाबन्दी तत्काल नखोलिएमा त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार सम्बन्धित पक्ष नै हुने चेतावनी एन्फाले दिएको छ। साथै, सङ्घले आफ्नो भौतिक संरचनाको सुरक्षा र दैनिक कार्य सञ्चालनका लागि शान्ति सुरक्षा कायम गरिदिन नेपाल सरकार र सुरक्षा निकायसँग अपिल समेत गरेको छ।
