काठमाडौँ । मेरिकी–इजरायली हवाई आक्रमणपछि तेहरानको शाहरान तेल डिपोमा आगलागी भएको छ। यसले क्षेत्रका धेरै इन्धन ट्याङ्कर र सवारीसाधन प्रयोगयोग्य नभएको अधिकारीहरूले जनाएका छन्। तेलको मूल्य १ सय डलर प्रति ब्यारेल नाघेपछि र अमेरिका–इजरायल–इरान विवाद बढेसँगै जी ७ राष्ट्रहरूले सोमबार आकस्मिक बैठक बस्ने भएका छन्। बैठकमा तेल मूल्य वृद्धिले विश्व अर्थतन्त्रमा पार्ने असर र बजार अस्थिरताबारे छलफल हुने छ। बेलायतकी चान्सलर राचेल रिभ्ससहित प्रमुख औद्योगिक देशका वित्त मन्त्रीहरूले आर्थिक असरको समीक्षा गर्नेछन्।
सोमबार ब्रेन्ट क्रुडको मूल्य २५ प्रतिशत बढेर ११९.५० डलर प्रति ब्यारेल पुगेको थियो, पछि लगभग १०९ डलरमा झरेको छ। अमेरिकी वेस्ट टेक्सस इन्टरमीडिएट क्रुडको मूल्य लगभग १०४ डलर प्रति ब्यारेल कारोबार भइरहेको छ। सेयर बजारमा पनि भारी गिरावट देखिएको छ। जापानको निक्केई २२५ इन्डेक्स सुरुमा ७ प्रतिशतभन्दा बढीले घटेर अन्ततः ५.२ प्रतिशतले बन्द भयो। दक्षिण कोरियाको कोस्पी इन्डेक्स ८ प्रतिशतभन्दा बढीले घट्दा २० मिनेटका लागि कारोबार रोकियो। विशेषज्ञका अनुसार तेल मूल्यमा वृद्धि अपेक्षित थियो, किनभने गल्फ देशमा उत्पादन रोकिएको छ र युद्ध दीर्घकालीन हुने संकेत देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेल मूल्य वृद्धिबारे चिन्ता नलिनुपर्ने बताएका छन्। उनी भन्छन्, “छोटो अवधिको तेल मूल्य, जुन इरानको आणविक खतरा समाप्त भएपछि घट्नेछ, यो अमेरिका र विश्वको सुरक्षा र शान्तिको लागि सानो मूल्य हो। केवल मूर्खले फरक सोच्न सक्छन्।” अमेरिकी ऊर्जा सचिवले पनि इजरायलले इरानको ऊर्जा पूर्वाधार लक्षित गरेको र युद्धका कारण बढिरहेको घरेलु इन्धन मूल्यबारे चिन्ता भए पनि स्थिति नियन्त्रणमा रहेको बताएका छन्।