काठमाडौं । विश्वकपको दशौं संस्करणमा उपविजेता बनेपछि नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सले खेलाडीको पारिश्रमिक उपलब्ध नगराएको खुलासा भएको छ ।
एभेन्जर्सबाट एनपीएलको दोस्रो संस्करण खेलेका अलराउन्डर जिमी निशमले यस्तो खुलासा गरेका हुन् । विश्वकपमा गरेको प्रदर्शनको प्रशंसा गर्दै पोखराले सामाजिक सञ्जालमार्फत दिएको बधाईको पोष्टमा निशमल कमेन्ट गर्दै खेलाडीहरूको पारिश्रमिक उपलब्ध गराउनू भनेका हुन् ।
“टी–२० विश्वकपको फाइनलको १६औँ ओभरमा जिमीले उत्कृष्ट बलिङ गरेका छन् । विश्वकपको मञ्चमा जिमीको यो स्पेल उत्कृष्ट छ । तर, न्युजिल्यान्ड उपविजेतामा सीमित भयो । एनपीएलको दोस्रो संस्करणमा पोखरा एभेन्जर्समा समावेश गर्न पाउँदा टिम गौरवान्वित छ,” पोखराले सामाजिक सञ्जालमा लेखेकोथियो ।
जवाफमा निशमले भनेका छन्, “खेलाडीहरूको पारिश्रमिक उपलब्ध गराउनू (कुल, पे योर प्लेयर्स) ।” जिमीको यो कमेन्टसँगै यति बेला सामाजिक सञ्जालमा पोखरा एभेन्जर्सको चर्को आलोचना भइरहेको छ । क्रिकेट समर्थकहरूले खेलाडीहरूको पारिश्रमिक दिन नसकेको भन्दै पोखराको आलोचना गरेका छन् ।